शहिद कृष्ण सेन ईच्छुकको १५ औँ स्मृति दिवस पोखरामा मनाइयो
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकाजी गुरुङले कृष्ण सेनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कृष्ण सेनलाई माक्र्सवादी साहित्यलाई बुझेका र बुझेका कुरालाई व्यवहारमा लागु गर्ने व्यक्तित्वको रुपमा चित्रण गर्नुभयो । माओवादी आन्दोलनलाई पुर्नगठन गर्न कृष्णसेनको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले उहाँको दिशानिर्देशलाई सम्मान गर्दै अनुकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृष्ण सेनको जनपक्षीय पत्रकारिता र प्रगतिशिल बिचार अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कृष्णसेन कलमजिवी, जुझारु साहित्यकार र निडर पत्रकार भएको बताउँदै आजको दिनले सबै पत्रकारलाई निडर पत्रकारिता गर्न झकझाउने बताउनुभयो ।
कार्यक्रममा कृष्ण सेन ईच्छुकको व्यक्तित्व र जीवनीबारे प्रकाश पार्दै कृष्णसेनका शोधकर्ता सुरेश रानाभाटले साहित्यिक फाँटमा कृष्णसेनले गरेको योगदान अतुलनिय रहेको बताउनुभयो । उहाँले कृष्णसेनले लेखेको कुराले नेतृत्व तह सम्म झट्का दिने गरेको स्मरण गर्नुभयो । बचनमा प्रतिवद्ध कृष्णसेन आफुले बोकेका विचारलाई व्यवहारमा जस्ताको त्यस्तै रुपान्तरण गर्न सक्ने व्यक्तिको रुपमा उहाँले चित्रण गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले कृष्णसेन ईच्छुकलाई स्मरण गर्दै उनको तस्विरमा अबिर र पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
प्रेस सेन्टर नेपाल कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण दवाडीले गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses