जहाँ लिथोग्राफी गर्ने कलाकार एकचोटि पुग्ने सपना साँचेका हुन्छन् -कविराज
नगेनन्यूज डटकम,भाद्र ११ -
नेपाली कलामा कलाकार कविराजको उपस्थिति निकै उत्साहजनक रहेको बताउँदै शाहले भने, ‘कला भनेको देशको प्रतिबिम्ब हो । यसले अहिलेको परिवेशलाई सयौं वर्षसम्म जीवन्त राखिरहन्छ । यस कार्यमा कलाकार कविको पनि अहम् भूमिका रहने विश्वास लिएको छु ।’
सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा आइतबारबाट सुरु भएको युवा कलाकार कविराज लामाको पाँचौ एकल कला प्रदर्शनी जारी छ । ‘फ्राग्मेन्टस्’ शीर्षकमा गरिएको प्रदर्शनीको उद्घाटन बैंकर अनिल शाहले गरेका थिए ।
कलाकार लामाले २०१६ मार्चको पहिलो हप्ता जर्मनीको म्यूनिख सहरमा रहेको कुन्स्लर हाउस आर्टिष्ट एण्ड रेसिडेन्सीमा दुईमहिने आवासीय कला कार्यक्रममा छनौट भई काम गर्ने अवसर पाएका थिए । सो आवासीय कार्यक्रम उपलब्ध गराउने संस्था लिथोग्राफी कलाका लागि विश्वमै प्रसिद्ध छ । रेसिडेन्सी स्टूडियोमा विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासोले समेत लिथोग्राफीसम्बन्धी काम गरेका थिए ।
लिथोग्राफीका लागि पाइने ढुंगाका लागि जर्मनीको बाबरिया निकै प्रसिद्ध स्थान हो ।
जहाँ लिथोग्राफी गर्ने कलाकार एकचोटि पुग्ने सपना साँचेका हुन्छन् । ‘जब म त्यहाँ पुगे, लिथोग्राफीका लागि विश्वमै कहलिएको बाबरिया तथा मैले रेसिडेन्सीका लागि अवसर पाएको स्थान आफैमा प्रसिद्ध कलाको तीर्थस्थल हो । जुन मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो’ कलाकार लामाले बताए । उनले थपे, ‘नेपालका राष्ट्रिय सम्पदालाई भूकम्पपछिको अवस्थालाई कलात्मक रुपमा उतार्ने कोसिस गरेको छु ।’
नेपालबाट पहिलोपटक रेसिडेन्सीमा कविराज लामा पुगेका छन् ।
खासगरी भूकम्पको त्रासदी, मानवीय जीवनका विविध आयाम र बाल मनोदशालाई उनले विषय बिम्बका रुपमा लिएका छन् । उनका कलामा शिल्पगत स्पष्टता, विषयगत प्रस्तुति तथा राष्ट्रियतालाई सबलताका साथ चित्रण गरिएको पाइन्छ । त्यसैगरी जर्मनीबाट फर्केपछि उनले चीनको सेन्जेनस्थित ग्वांलांग ओरिजिनल प्रिन्टमेकिङ रेसिडेन्सीमा एकमहिना काम गर्ने अवसरसमेत पाए ।
त्यहाँ पनि नेपालबाट पहिलोपटक उनी नै छनौटमा परेका थिए । चीनको सेन्जेनमा भएको अन्तर्राष्ट्रिय प्रिन्टमेकिङ फेस्टिबलमा समेत नेपालको प्रतिनिधित्व गर्दै लामा त्यहाँ पुग्ने अवसर प्राप्त गरे । उनले त्यहाँको आवासीय प्रोग्राममा पनि नेपाली सम्पदा र संस्कृतिका विषयमा केन्द्रित रही कलाकृति तयार पारे ।
जर्मनी र चीनमा तयार पारिएका तिनै कलाकृतिलाई लामाले प्रदर्शनीमा राखेका हुन् ।
0 comments
Write Down Your Responses