नगेनन्यूज डटकम, साउन १७, पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय संयोजक नरेन्द्र न्यौपानेले राष्ट्रियता जोगाउन विद्यार्थी जाग्नुपर्ने बताएका छन् ।
क्रान्तिकारीको वन विज्ञान अध्ययन संस्थान मूल इकाइ कमिटीको १२ औं अधिवेशन तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा न्यौपानेले उक्त कुरा बताएका हुन् । विद्यार्थी नेता न्यौपानेले राष्ट्रियताको व्याख्या गलत तरिकाले भइरहेको भन्दै त्यसलाई सच्याउँन पनि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए । ‘अहिले आफैले आफैलाई बडो राष्ट्रवादी दावी गर्नेहरुको जगजगी छ,’ उनले भने, ‘त्यस्तो भ्रम चिर्न युवा विद्यार्थी नै लाग्नुपर्छ ।’
न्यौपानेले विगतमा अखिल र नेविसंघ तयार नभएकैले स्ववियु निर्वाचन हुन नसकेको बताए । ‘क्रान्तिकारी चुनाव लड्न तयार थियो,’ उनले भने, ‘अखिल र नेविसंघ तयार भएनन् ।’ उनले फागुन १४ मै स्ववियु चुनाव गर्न क्रान्तिकारीले पहल गरेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपक कोइरालाले माओवादीले उठाएको विकास र समृद्धिको नारालाई केपी ओलीले आफ्नो भन्दै हिडेको आरोप लगाए । ‘दोस्रो संविधानसभाको चुनावी प्रतिवद्धतापत्रमा केरुङबाट रेल ल्याउने योजना छ,’ उनले भने, ‘अहिले केपी ओलीले त्यही कुरा गरेर राजनीति गरिरहेछन् ।’ उनले महाकाली बेच्नेले भारत विरुद्ध सुरुङ युद्धको घोषणा गर्ने पार्टी र खुलामञ्चबाट भारतलाई चेतावनी दिने प्रचण्डलाई राष्ट्रवादी नदेख्नु हास्यास्पद भएको बताए ।
कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन प्राडा चिरञ्जीवीप्रसाद उपाध्यायले क्याम्पसले उपलब्ध गराएको स्रोत साधनको भरपूर उपयोग गरी दक्ष प्राविधिक बन्न आग्रह गरे । क्याम्पस प्रमुख वीरबहादुर खनाल क्षेत्रीले विचार र सिद्धान्तलाई उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिए । अखिल (क्रान्तिकारी) ४ नम्बर प्रदेश इञ्चार्ज पुरन केसीले प्राविधिक शिक्षामा सरकारले गरेको लगानी कम भएको बताउँदै पर्याप्त लगानी गर्ने वातावरण बन्नुपर्ने धारणा राखे ।
स्नातक र स्नातकोत्तर पहिलो वर्ष अध्ययन गर्न आएका विद्यार्थीको स्वागतार्थ आयोजित कार्यक्रममा त्रिवि प्राध्यापक संघका क्याम्पस इकाई सभापति विनोदप्रसाद हायजु, क्रान्तिकारी वन क्याम्पस इकाइका संस्थापक अध्यक्ष दीपक परियार, पूर्व इकाइ अध्यक्ष दिनेश शर्मा, स्नातक पहिलो वर्षका विद्यार्थी अस्मिता पाण्डे र विन्दमान थापाले बोलेका थिए ।
उक्त अवसरमा वेपत्ता विद्यार्थी नेता पूर्ण पौडेलका दाजु केदार पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा क्रान्तिकारीले आयोजना गरेको बृहत खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिएको क्रान्तिकारीका जिल्ला उपाध्यक्ष योगेश पन्तले जानकारी दिए । इकाइको १२ औं अधिवेशनले सोमबार नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
वन विज्ञान अध्ययन संस्थान क्रान्तिकारी मूल इकाइ कमिटीकी कार्यवहाक अध्यक्ष वर्षा अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कविन्द्र शाहीले स्वागत र विद्यार्थीहरु नरेश खनाल र एलिनाले सञ्चालन गरेका थिए ।
राष्ट्रियता जोगाउन विद्यार्थी जाग्नुपर्ने
0 comments
Write Down Your Responses