• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Article, Nepali, News, Photo, Polites » तीन कक्षा‘मनिटर’,स्कुल अध्यक्ष,मास्टरी,पूर्व लडाकु कमान्डर हुदै उपराष्ट्रपति
तीन कक्षा‘मनिटर’,स्कुल अध्यक्ष,मास्टरी,पूर्व लडाकु कमान्डर हुदै उपराष्ट्रपति

 दौरासुरुवाल लगाएर उपराष्ट्रपति पुनले शहिद र जनताको नाममा सपथ लिए

काठमाडौं, कार्तिक १५ - नव निर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले शहिद र जनताको नाममा सपथ ग्रहन गरेका छन्। शीतल निवासमा भएको सपथ समारोहमा पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणमा उनी दौरासुरुवाल लगाएर उपस्थित भएका थिए।
 नयाँ उपराष्‍ट्रपतिले सपथ लिएकै दिन नेपालको पहिलो उपराष्‍ट्रपति परमानन्द झाको पनि बिदाई हुँदैछ। संसदमा शनिबार भएको निर्वाचनमा ३ सय २५ मत ल्याइ एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्व लडाकु कमान्डर पुन उपराष्ट्रपति निर्वाचित भएका थिए। अघिल्ला उपराष्ट्रपति परमानन्द झा सपथ ग्रहणमा लगाएको पोशाक र भाषाका कारण विवादित बनेका थिए। 
धोती र कुर्ता लगाएर हिन्दी भाषामा सपथ खाएका उनको तीव्र आलोचना भएको थियो। सर्वोच्च अदालतले उनको सपथलाई अवैध ठहर गरेर पुन सपथ लिन आदेश दियो। उपराष्ट्रपति निर्वाचित भएको डेढ वर्षपछि उनले पुनः दौरा सुरुवाल लगाएर नेपाली र आफ्नो मातृ भाषा मैथलीमा सपथ खाए। त्यसयता सँधै सार्वजनकि कार्यक्रममा उनी राष्ट्रिय पोशाकमा प्रस्तुत हुने गरेका थिए। मधेसी मूलकै राष्ट्रपति डा रामवरण यादवले भने दौरा सुरुवाल लगाएर नेपाली भाषामा सपथ खाएका थिए। 
गाउँको झिल्के ठिटो युद्ध मैदानमा
नन्दकिशोर पुन काठमाडौंमा उपराष्ट्रपति चुनिँदा उनका ८१ वर्षीय बाबु रामसुर रोल्पाको सुदूरगाउँ भन्भनेस्थित मूलघरमा गोरूलाई घाँस हाल्दै थिए। घरको टिभी बिग्रेर उपराष्ट्रपति निर्वाचित छोराको अनुहार देख्न नपाउँदा उनी चुकचुकाउँदै थिए। काइँला भाइ दीपक (मूलघरको ठीक पाल्लोपट्टिको घरभित्रहुँदै नन्दकिशोरले झण्डै पचास मिटर लामो सुरुंग खनेका थिए। 
र, उक्त घरमा अहिले काइँला दीपकको परिवार बस्छ।) सुरुङअगाडि उभिएर उपराष्ट्रपति निर्वाचनको खबर सुनिरहेका थिए, स्थानीय एफएममा। रामसुर र दीपकलाई राम्ररी थाहा छ, रोल्पाको राङ्सी–९ भन्भनेमा जन्मेका झिल्के ठिटो नन्दकिशोरले न जनमुक्ति सेना प्रमुख हुन्छु भन्ने चिताएका थिए न उपराष्ट्रपति। 
द्वन्द्वकालभरि कमरेड ली फङ हुँदै पासाङको नामले चर्चित उनी व्यवहारैले लडाकू थिए। यस्ता लडाकू, जो आफ्नै मृत्युको सरकारी समाचार खन्डन गर्दै हिँड्थे। जसले जिन्दगीका हरेक घटना र घुम्तीलाई लडाइँकै रूपमा लिए। उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउन बानेश्वर जाँदा भन्दै थिए, ‘यो लडाइँकै एउटा हिस्सा हो, यहाँ पनि मलाई रोक्न प्रतिक्रियावादी लागिरहेका छन्।’ 

      झिल्के ठिटो
   ‘यो केटो काम लाग्दैन।’ नन्दकिशोरलाई लिएर यस्तै धारणा बनाएका थिए, उनका शिक्षकले। लेखपढ गर्नुपर्छ भन्ने चेत बोकेका उनका बाबाले लोकबहादुर नाउँका ‘प्युठानी मास्टर’ राखिदिएका थिए। पाँच भाइमध्ये माइला उनको मन भने पढाइलेखाइमा भन्दा दिदीसित गाईवस्तु चराउन र मेलापातमा रमाउनमै बढ्ता मखलेल हुन्थ्यो। उनको घरबाट सबैभन्दा नजिकको स्कुल लगभग दुई घन्टा पैदलदुरीमा थियो। स्कुल जान भनेपछि उनलाई त्यसै–त्यसै गोडामा सय टनको भारी झुन्डिएजस्तो हुन्थ्यो। 

 जतिसुकै मन नपरे पनि कालोपाटी बोकेर प्युठानी मास्टरको साथ लागेर स्कुल नगई धरै पाउँथेनन्। कुखुरा नबास्दै जागेर आमा र दिदीसित वन जान्थे। सोत्तर लिएर उज्यालो नछिप्पिँदै फर्कन्थे। आमालाई चाँखी (जाँतो) पिस्न सघाउँथे। अनि, भांगाको झोलामा भुटेको मकै र भटमास बोकेर स्कुल हिँड्थे। उनको नेतृत्व क्षमता भने सानैदेखि तिख्खर थियो। जाखरस्थित त्यो स्कुलमा तीन कक्षा पुग्नेबित्तिकै उनी सर्वसम्मत ‘मनिटर’ चुनिए। उनी पहिलोचोटि नेता भएको त्यही बेला हो।
 तिख्खर नेतृत्व र घरव्यवहारमा जाँगरिला नन्दकिशोरको रोल्पाली लोकगीतमा पनि उत्तिकै टख बसेको थियो। उनको गायनकलाबाट प्रभावित नहुने गाउँमा कोही थिएन। छोट्टी बस्न डाँडागाउँ, पाखाबाङ, ओ, दामाङ र झिबाङतिर जाँदाजाँदै र गला गाँस्दागाँस्दै (स्वरमा स्वर थप्नु) तरूनीलाई चोटिलो उत्तर दिनधरि सिपालु भइसकेका थिए। ‘आमा र दिदीले निद्रा लाग्छ भनेर गीतको तालसित चाँखी पिस्थे। भाले बासेपछि वारिपारिका गाउँबाट रोल्पाका पुराना गीत सुनिन्थे,’ ५० वर्षीय नन्दकिशोरले हालैको एक बिहान आफ्नो अतीत सम्झँदै सेतोपाटीसँग भने, ‘मैले गीत सिकेको त्यहीँबाट हो।’ ‘मेरो स्वर खासै राम्रो त हैन, तर खतरा उत्तर फर्काउँछ भन्थे सबै, हुँदाहुँदा गला गाँस्नेबाट आफैं गाउनेमा दरिइहालेँ,’ उनले भने।
 गीत गाउने, घरको सबै काम भ्याउने, स्कुल पढ्ने, अरू विद्यार्थीलाई तह लाउने र त्यसमाथि जिउडाल पनि आकर्षक भएपछि गाउँमा धेरैका ‘प्यारा’ थिए नन्दकिशोर। ‘खासगरी केटीहरूका,’ डन्डीफोरे याम सम्झँदै उनी हाँसे, ‘तरुनीका आँखा त मैमाथि हुन्थ्यो।’ कतिसम्म भने, द्वन्द्वकालमा एकचोटि बिरामी परेर भारतको अस्पताल भर्ना हुँदा नर्सहरूले ‘कितना ह्यान्डम है’ भन्दै मुसार्न आएको उनका सहकर्मी अझै सम्झन्छन्। 
मगर संस्कृतिअनुसार माघ महिनामा एक गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई तारो हान्न आमन्त्रण गर्ने चलन छ। पोते तन्नेरी उनी तारो हान्न (बन्दुकले या धनुषकाँडले) एक नम्बर थिए। ‘बन्दुकले हाने पनि धनुषले हाने पनि कसैलाई छेउ पर्न दिइनँ,’ उनले सम्झिए, ‘दस रुपैयाँ, एक पोका रोटा र चार बोतल रक्सीसम्म तारो हानेर जितेको छु।’ सानैदेखि तारो हान्न ‘एक नम्बर’ भएकैले होला, माओवादी ‘जनयुद्ध’मा पनि लडाकुहरूको एक नम्बर नै हुन पुगे। 
 राजनीतिको चस्का
२०३६ सालको कुरा हो। गाउँमा आन्दोलनको तातो हावा बग्न थालेको थियो। उनी घरभन्दा टाढा पोखरा भन्ने ठाउँको स्कुलमा भर्ना भए, कक्षा ४ मा। उनका एक शिक्षक निर्मल गिरी मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा आबद्ध थिए भने हेडमास्टर देवीराम रिजाल मालेतिरका थिए। गणितमा रुचि भएकाले उनको निकटता गिरीसँग थियो। उनी त्यही बेला नेकपा मशाल निकट अखिलको स्कुल अध्यक्ष बने। २०३९ सालतिर उनी सात कक्षा पास गरेर सदरमुकाम लिबाङ गए। त्यहाँ गिरीले नै उनलाई कृष्णबहादुर महरासित चिनजान गराइदिए। 
गणित र विज्ञान पढाउने महराबाट नन्दकिशोरले कम्युनिजमको शिक्षा पनि लिए। उनी लिबाङ स्कुलमा पनि अखिलको अध्यक्ष चुनिए। २०३९ मै अखिलको उपकेन्द्रीय उपाध्यक्ष भइसकेका नन्दकिशोर पछि राजनीतिमा सक्रिय भएको भन्दै लिबाङ स्कुलबाटै निकालिए। त्यसपछि उनी नेपाली कम्युनिस्ट आन्दोलनको ‘मक्का–मदिना’ मानिने रोल्पाको थबाङ पुगे। २०४१ सालमा उनले मास्टरी पेसा अपनाए, आफूले पढेको राङ्सी स्कुलमै। राजनीतिमा संलग्नता जारी थियो। केही समय जेल पनि परे। त्यसपछि पढ्न भनी दाङको घोराहीस्थित महेन्द्र क्याम्पस गए।
 क्याम्पस पुगेपछि उनको राजनीति झन् चुलियो। त्यही क्याम्पसमा उनी अखिल अध्यक्ष भए। त्यसबेला स्ववियु चुनाव हुन थाल्यो कि रोल्पाली, रुकुमेली र प्युठानी विद्यार्थी मशाल भन्दै खेदिन्थे। नन्दकिशोरको पालामा त्यो अध्यायको अन्त्य भयो। ‘भरतपुरमा रत्ने भन्ने नेवारका दादा र कांग्रेसका दादा थिए, हरिनाथ योगी। एक दिन स्पाइरिङ गर्दा पासाङले रत्नेलाई मुखमै मुक्का हाने। रत्ने आफैंले प्रचार गरेपछि पासाङ त्यसै दादा भए,’ उनका सहकर्मी तथा डिभिजन कमान्डर सुकबहादुर रोका मगर 'शरद'ले भने। योगीलाई यो कुरा कहाँ मान्य हुन्थ्यो र! 
 श्रम शिविरका लागि धान काट्न चौघेरा पुगेका बेला योगीको ग्याङले घेरा हालेछ। नन्दकिशोरले झन्डा उनेको लाठीले सबका टाउकोमा टुटुल्का उठाइदिएछन्। ‘त्यसपछि त योगी पनि तर्सिन थालिहाले,’ सुकबहादुरले भने। २०४६ को जनआन्दोलनताका उनले पश्चिम रोल्पाको कमान्डसमेत सम्हाले। पूर्वमन्त्री जयपुरी घर्ती मगर र पूर्वसभासद तारा घर्ती मगर उनकै विद्यार्थी हुन्।
नन्दकिशोर २०४८ देखि पूर्णकालीन पार्टी कार्यकर्ता भएका थिए। त्यस वर्ष नेकपा एकता केन्द्रको एकता महाधिवेशनअघि रोल्पा जिल्ला सम्मेलन भएको थियो। कृष्णबहादुर महरा सेक्रेटरी चुनिए। सानो कमिटी बन्यो। हलबाट भने नन्दकिशोरलाई पनि थप्न चर्को आवाज उठ्यो। सन्तोष बुढामगर, जोखबहादुर महरा, राजेश सुवेदी, इन्द्रबहादुर बुढा (थबाङ) लगायत पहिल्यै समितिमा थिए। त्यसैमा दुई जना थप्ने निर्णय भयो। एक जना उनी परे, अर्का परे झक्कुप्रसाद सुवेदी जसले पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका माधव नेपाललाई हराएका थिए। 
 त्यो बेला गाउँमा कांग्रेस र जनमोर्चाबीच लडाइँ चल्थ्यो। उनको गाउँ पल्लोपट्टि इरिबाङका कांग्रेसले चप्का मेलामा हाँक दियो। उनी माओवादी रोल्पा सदस्य थिए। पार्टीले स्थानीय वर्गसंघर्ष भन्दै प्रहरीसित झडप भए पनि गर्ने र हतियारसम्म खोस्ने सर्कुलर गरेको थियो। उनी चप्का मेला पुगे। रोल्पाको परम्परागत पैसरी नाच्न मादल भिरे। उनका बुबा अगुवा भएर नाच्न थाले। नाचिरहेकै बेला प्रहरीले घेरा हाल्यो। उनको छातीमा समात्न खोज्यो। उनले दायाँ खुट्टाले लात्ती हाने। प्रहरी हुर्रिंदै पर पुगे। त्यसपछि उनका साथीहरूले पनि हातहातमा लाठी लिएर प्रहरीलाई घेरे। प्रहरीले हवाई फायर ग¥यो। 
आक्रोशित उनका साथीले लाठी हान्न थाले। लोकबहादुर घर्ती मगर र मनबहादुर पुन गोली लागेर ढले। ‘संयोगले पुलिसले ट्रिगर दाब्ने र मैले लाठी हान्ने समय एउटै पर्यो। लाठीको चोटले ट्रिगर दाब्दा हात कमायो होला। ढल्केजस्तो गर्दा पाखुरामा लाग्यो, पुलिस घोप्टो परेको थियो। फर्केर हान्दा मैले दुईतीन आली काटिहालेँ,’ पहिलोपल्ट कालको मुखबाट फुत्केको घटना सम्झँदै नन्दकिशोरले भने। यो घटना हो, २०४९ मंसिर १९ को। त्यसबेला उनी आफू पहिलोपालि अखिलको स्कुल अध्यक्ष बनेको स्कुल जनसेवा मावि राङ्सीमा शिक्षक पनि थिए। घटनापछि प्रशासनले उनको टाउकोको मूल्य तोक्यो, ३५ हजार रुपैयाँ। 
सधैं युद्ध मैदानमै 
 माओवादीले सशस्त्र ‘जनयुद्ध’ थाल्दा उनी माओवादी रोल्पा जिल्ला समिति सदस्य थिए। अध्यक्ष पुष्पकमल दाहाललाई आँखा चिम्लेर काँध थाप्ने कोही थिए भने एक जना दिवंगत पोष्टबहादुर बोगटी त अर्का नन्दकिशोर। त्यही भएर, माओवादीले नन्दकिशोरलाई पनि अर्का बोगटी भन्थे। माओवादीभित्र चर्केको गुटगत लडाइँमा उनले दाहाललाई कहिल्यै छाडेनन्। द्वन्द्वको सुरुआती दिनमा हतियार बनाउने जिम्मा उनकै थियो। रोल्पाका गाउँगाउँमा आरनमा बन्दुक बन्थ्यो। भरुवा बन्दुकले चरा र मृगको सिकार हुन्थ्यो। माओवादीसँग आरनमा गएर सिक्ने र बनाउनेबाहेक अर्को विकल्प थिएन। 
लडाइँ सुरु हुने बेला गाउँको इलाका इन्चार्ज भएर गएका नन्दकिशोरले थुप्रै आरन चहारे। त्यसबेला वर्षमान पुन 'अनन्त' रोल्पा सेक्रेटरी थिए। नन्दकिशोरले सुरक्षा र फलाम गाल्ने गोलका लागि कुरेलीको सराबाङ छाने। त्यहीँ बारूद पिसे। गजे राइफल, बाह्रबोर र कट्वा पेस्तोलबाट हतियार बनाए। उनी लोहा, घन हान्दै आफैं राइफल बनाउन कस्सिने गरेको तत्कालीन डिभिजन सहकमान्डर रामलाल रोका मगर 'मदन' सम्झन्छन्। त्यसपछि उनले एट्टीवनको सेल बनाए। एक सय मिटरभन्दा पर बम फाल्न सक्ने राइफल बनाए। रिभल्भर, कट्टा पेस्तोल, म्यागजिन, पार्टपुर्जा पनि आफैं बनाए। 
 ‘मेसिनमा फिट गरेजस्तो भकाभक बन्ने भएन। ती त होममेडजस्ता भए,’ पर्याप्त हतियार बनाउन नसकेको भन्दै रामलालले भने, ‘प्राविधिक क्षेत्रमा उनले आफ्नो क्षमताले भ्याएजति गरे।’ प्राविधिक दक्षता भएका उनलाई पार्टीले पनि सैन्य क्षेत्रको कमान्ड गर्ने जिम्मा दिँदै गयो। युद्धताका सबैजसो केन्द्रीय स्तरका लडाइँमा उनले नै कमान्ड सम्हाले। ‘जनयुद्ध’ तयारी बेला वाइसिएल रोल्पा अध्यक्ष र प्रशिक्षक रहेका नन्दकिशोर लडाकु दल कमान्डर हुँदै २०५५ मा उनकै कमान्डमा ‘टास्कफोर्स’ बन्यो। २०५६ मा उनी छापामारको पहिलो कम्पनी कमान्डर भए। त्यसपछि बटालियन, बिग्रेड र डिभिजन हुँदै चार डेपुटी कमान्डरमध्ये एक छानिए। र, जनमुक्ति सेना सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उनी जनमुक्ति सेना प्रमुख भए। २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य चुनिए।
 गोवा बैठकपछि पोलिटब्युरो सदस्य र अहिले पार्टी स्थायी समिति सदस्य। पार्टीबाहिर विशेष गरी तत्कालीन शाही नेपाली सेना र प्रहरीको आँखामा रामबहादुर थापा ‘बादल’ सहित उनको अचम्मको विम्ब थियो। समातेजतिका रोल्पालीलाई नन्दकिशोरको अनुहार, आहारबिहार र आनीबानीबारे सोधिन्थ्यो। द्वन्द्व क्रममा पटकपटक मृत्युलाई नजिकबाट भोगेका छन्, उनले। २०५६ चैत २१ गते माओवादीले रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमा हमला गरेका थिए। नजिक पुग्दा प्रहरीले चलाएको गोली उनको आँखा नजिकैबाट गयो। ‘आँखामा धुलो परेजस्तो भयो, केही बेर देख्दै देखिनँ,’ उनले भने, ‘त्यतिबेला लागेको गोलीले अहिले पनि प्रस्ट देख्दिनँ।’ 
 २०६९ चैत २४ राति रोल्पाको गाम ब्यारेक हमला गर्दा पनि उनी बालबाल बचेका थिए। सहयोगीसहित ब्यारेकतर्फ जाँदा प्लाटुन कमान्डर धर्मेन्द्र (कालिकोट) ले उनलाई रोके। धर्मेन्द्र अघि लागे। धर्मेन्द्रले दुई पाइला मात्र के सारेका थिए, ‘ऐऽया’ भन्न नपाई ढले। धर्मेन्द्रले नरोकेका भए उनको ठाउँमा नन्दकिशोर ढल्थे। २०६१ चैत ७ गते बेनी आक्रमण गर्दा उनी कमान्डर थिए। आक्रमण गरेर फर्कंदा हेलिकप्टरबाट बमवर्षा भयो। दुईवटा गोली उनको दायाँ खुट्टाको बूढीऔंला छेउबाट गए। उनी ढलमुनि छिरेर बल्लतल्ल बाँचे। मृत्युसँग उनको अर्को भेट भयो बुटवलमा, दरबार हत्याकाण्डलगत्तै। उनी पर्वत हमलाको निम्ति सर्वेक्षण गर्न हिँडेका थिए। फर्कंदा बुटवलमा खाना खाएर डिभिजन कमान्डर धनबहादुर मास्की मगर (राजेश) सित भर्खर कोठामा छिरेका थिए। दिउँसो दुई बज्दै थियो। प्रहरी पुग्यो। सवालजवाफ सुरु भयो। उनले नअक्कमाई जवाफ दिए। 
‘अन्डरवेयर मात्र लगाएर निस्फिक्री सुतेका राजेशलाई देखेर पुलिस अल्मलियो,’ उनले भने, ‘के सोचेर कुन्नि, उनीहरू अलि पर गएर खासखुस गर्न थाले, त्यही मौकामा हामी टाप कस्यौं।’ शान्ति प्रक्रियापछि पनि मृत्युसँगको लडाइँ सकिएन। यसपालि लडाइँ ‘वर्गशत्रु’ सित थिएन, रोगसित थियो। दुवै मिर्गौलामा समस्या देखिएका उनलाई जोरपाटीको नेपाल मेडिकल कलेजले तुरुन्तै भारतको एपोलो अस्पताल लैजान भन्यो। अलिकति मात्र ढिलो गरेका भए मृत्युसितको यो लडाइँमा उनी लगभग हार्ने स्थितिमा पुगिसकेका थिए।
‘जिन्दगी नै लडाइँ हो’
माओवादी जनमुक्ति सेना प्रमुख रहेका नन्दकिशोर सेना विघटनसँगै चर्चाबाट टाढिँदै गएका थिए। एमाओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई पालैपालो बालुवाटार छिरेपछि दुवै सरकारले युद्धकालमा देखाएका रंगीन सपना बिर्से। फलस्वरुप दोस्रो संविधानसभा चुनावमा एमाओवादी पहिलोबाट तेस्रो दलमा झर्यो। छक्कापन्जा नगर्ने खाँटी परम्परागत मगर स्वभावका उनलाई ‘मनी र मसल’ को संसदीय राजनीति छाम्ने अवसर पार्टीले यसअघि कहिल्यै दिएको थिएन।
 चुनावमा गगन थापासित एमाओवादीले भिडाएपछि उनले हारे। सरल स्वभावका उनमा छोटो समयमै निर्णय गर्ने खुबी रहेको उनका निकटहरू बताउँछन्। ‘उनको सबैभन्दा ठूलो पुँजी इमानदारी हो। जे छ त्यै भने। त्यै गरे। त्यसैले पार्टीमा पछि परे,’ उनका सहकर्मी भन्छन्, ‘सेना शिविरमा बसेपछि पार्टीले उनलाई सेनाको भन्यो। न पार्टीमा कुनै स्थान दिइयो न जनतासित खेल्ने ठाउँ पाए।’ उनले सशस्त्र द्वन्द्व क्रममै कान्छा भाइ कमल गुमाए। चार बर्षे जेल बसाइँपछि काइँला दीपक गाउँमै खेतीपाती गर्छन्। पवन शर्माको नाउँले समालोचना तथा गीत लेख्ने कमल कलाकार साथै माओवादी विद्यार्थीको केन्द्रीय सदस्य थिए। कमलकी छोरी दीक्षा पोखरामा जेठाबासित बसेर नौ कक्षामा पढिरहेकी छन्।
 दोस्रो बिहे गरेर गएकी बुहारी भूमिका विप्लव–माओवादीमा छिन्। पुलिसको गोली लागे पनि 'मौका'ले बाँचेका उनका काइँला भाइ दीपक चार बर्षे लिबाङ जेल बसाइँपछि गाउँमै खेतीपाती गर्छन्। उनका दुई छोरा जितेन्द्र–दीपेश पार्टीमै सक्रिय छन्। दीपेश अस्कल स्ववियू सदस्य हुन्। साहिला भाइ भीमप्रकाश उनले माष्टरी गरेको स्कुल जनसेवा उच्च माविमै प्राचार्य छन् भने साहिली बुहारी स्वास्थ्य कार्यकर्ता। जेठा दाजु वीरबहादुर ब्रिटिस गोर्खा वेलफेर स्किम पोखरामा प्रोजेक्ट मेनेजर छन् भने जेठी भाउजू सरकारी कर्मचारी। 
जेठा दाजुका छोरा प्रकाश भैरवनाथ गणमा तीन महिना बेपत्ता पारिएका थिए। सशस्त्र द्वन्द्वभरि लडाइँमै बिताएका नन्दकिशोर परिवारको सदस्य गुमाउने तत्कालीन चार माओवादी केन्द्रीय नेतामध्ये एक हुन्। पोष्टबहादुर बोगटी र हितराज पाण्डेले छोरा गुमाए भने हेमन्तप्रकाश ओलीले छोरी। जिन्दगीलाई नै लडाइँ ठान्ने उनी मनोनयन दर्ता गर्न जाँदा भन्दै थिए, ‘यसलाई पनि लडाइँकै रूपमा लिएको छु, यहाँ पनि मलाई रोक्न प्रतिक्रियावादी लागेका छन्।’
 रोल्पालीलाई मन्त्रीको कहिल्यै हर्जा भएन। 
झन्डै पञ्चायतभर र बहुदलपछि पनि बालाराम घर्ती मगरलाई रोल्पाले मन्त्री पायो। बहुदल आएपछि कांग्रेसबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढामगरलाई मन्त्री पायो। शान्ति प्रक्रियापछि गृहसहित उपप्रधानमन्त्री कृष्णबहादुर महरा र अर्थमन्त्री वर्षमान पुन पायो। जयपुरी घर्तीमगर हुँदै पहिलो महिला सभामुख ओनसरी घर्ती मगर पनि रोल्पाकै हुन्। हर्जा भयो त स–साना रहर र सपनाको पछि लाग्दालाग्दै जुनी काटिरहेका सर्वसाधारण रोल्पालीका अनुहारमा फुल्ने खुसीको। आज रोल्पाले उपराष्ट्रपतिका रूपमा नन्दकिशोर पुन पाएको छ। सर्बसाधारण रोल्पालीसहित सारा नेपाली दुखीजनका मन फुलेको हेर्न भने बाँकी छ। त्यो दिनको लागि कति समय बाटो हेरी बस्नुपर्ने हो, कुन्नि?
  नन्दकिशोरको नाफाको जीवन 
२०४३ सालतिर आफ्नै गाँउ रोल्पाको राङ्सीमा शिक्षक बनेर विद्यार्थी पढाउने नन्दकिशोर पुन मगर (पासाङ) २०७२ सालमा आइपुग्दा उनी नेपालको उप-राष्ट्रपति बनेका छन्। तर शिक्षक र उप-राष्ट्रपति बाहेक अरू धेरै चिजको उपमा उनको जीवनसँग गाँसिएको छ। ती उपमाहरू समयक्रम सँगै थपिएका छन्, खोसिएका छन्,बदलिएका छन्। बटालियन कमिसारबाट बदलिएर उनी बटालियन कमाण्डर बन्न पुगे, बिर्गेड कमान्डर,डिभिजन कमान्डर र डेपुटी कमाण्डर हुँदै तत्कालीन माओवादी जन-सेनाको प्रमुख कमाण्डरसम्म बने। तर यी बदलिएका उपमा र समयहरू नन्दकिशोरको लागि सहज थिएनन्। 
शान्तिकालको प्रारम्भपछि प्रमुख कमाण्डरको भूमिकामा अस्थायी शिविरमाबसिरहेका उनी भन्ने गर्थे-हामीहरु नाफाको जीवन बाँचिरहेका छौ।' जनयुद्धमा उनको टाउकाको मूल्य तोकियो, शान्तिकालमा टाउकोको मुल्य रहेन। सायद उनले यसैलाई नै 'नाफाको जिन्दगी' भनेका होलान्। कुनै समय यस्तो पनि थियो-प्रहरी र सैनिकले उनको घर महिनामा १५ पटक खानतलासी गर्थे र वर्षमा २/३ पटक तोडफोड। यो खानतलासी र तोडपोडको कुरा २०५२ सालपछिको होइन, २०४८ साल अघिकै हो। कम्तिमा २० भन्दा धेरै सरकारवादी झुठा मुद्दाले निकै आजित बनेका उनी लिवाङ पुलिस थानाको हिरासतमा बस्ने,निस्कने गरिरहेका हुन्थे। २०३९सालमा लिवाङमा स्कुल पढ्दै गर्दा अखिलको उप केन्द्रीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधि भएपछि विद्यार्थी भएर पनि कम्युनिष्ट राजनिति गर्ने? भन्दै उनले धेरै हपकिदप्की सहनु पर्यो। 
२०४१ सालमा थवाङको प्रहरी थानामा ३ दिनसम्म पिटाई खाए। तर जति पिटाई खाएपनि विकट पहाडको दुःख, गरिबि, अशिक्षा र भोकमरीको समस्यालाई वर्गीय रुपमा नियालिरहेका थिए नन्दकिशोरले। उनी स्वंय पनि निकै गरिब परिवार जन्मेका थिए। यस्तो चपेटाको हल क्रान्ति बाहेक अरु हुन सक्दैन भन्ने उनलाई लाग्थ्यो। 
२०४६ सालमा क्याम्पस पढ्न दाङ पुग्दा उनी लक्का जवान देखिन थाले। र उनको युवा दिमाखमा सुरोपना आयो। सुरोपना भनेको भूमिगत हुने हो तरगुफा भित्र लुकी रहने भन्ने मात्र होइन। भूमिगत जीवनमा मौका हेरेर प्रतिकार गर्ने हो, योजना बनाउने हो, बदलाको भावमा काम गर्ने हो। 
२०४८सालमा नन्दकिशोर भुमिगत भए अनि २०५१ मा आफ्नै गाँउको चप्का मेला हेर्न गएको बेला प्रहरीले उनलाई गोली हान्यो। उनी साथीभाइसँग मौलिकनाच 'पैसेरु' नाचिरहेका थिए, ड्याम्म गोली पड्कियो। कसो-कसो गरेर उनि उम्किए, तर उनलाई जोगाउन खोजेका अन्य दुईजना युवा लोकबहादुरघर्ति र मन बहादुर पुनको गोली लागेर मृत्यु भयो। मृत्युको मुखबाट मुस्किलले बाँचेका उनले अब भने विजय प्राप्त नगरी बाहिर ननिस्कने प्रण गरे।
 २०५२ सालमा त जनयुद्धको घोषणा भैहाल्यो। त्यही युद्धको थालनी गर्दा निर्माण गरेको लडाकु दलको कमाण्डर पनि उनी नै हुन्। गाँउको स्कुलमा शिक्षक बनेर समाजसेवा गरिरहेका नन्दकिशोरलाई परिस्थितिले कमाण्डरको बाटोमा धकेलिदियो अनि हात-हतियार प्रविधिको खोजमा लागे। कालोपाटीमा चकले क, ख, ग, पढाइरहेका उनी थ्री नट थ्री राइफल, एसएमजी, सकेट बम, ट्वेल्बोर जस्ता हतियार आफैं बनाउन थाले। उतिबेला जनमुक्ति सेनाले प्रयोग गरेको ८१ एमएमको मोटार र त्यसमाप्रयोग गरिने सेलहरु उनकै निर्देशनमा बनेका हुन् । 
 कतिपय मानिस भन्छन्-युवा अवस्थामै जंगल पसेको नन्दकिशोर खासै पढे लेखेको छैन। तर यो अनुमान सत्य होइन। युद्धमा शैन्य शिक्षालाई विकास गर्न रामायण र महाभारत धेरै पटक पढेका छन्। शितयुद्धका किताब पढेका छन्। भूगोल र निश्चित स्थानको रेकी गर्नमा माहिर उनले एउटा माटोको ढिस्कोमा म्याग्दी सदरमुकाम बेनीको भूगोल उतारेका थिए। कुशल सैन्य प्रशिक्षक भएर पनि होला उनि पटक-पटक मृत्युको मुखमा पुगेर समेत बाँचे। तत्कालीन समयमा माओवादी लडाकु र सरकारीफौजबीच भिडन्त हुदाँ प्रत्येक पटक पासाङको मृत्यु भएको दाबी रेडियोमा बाचन हुन्थ्यो। युद्धमा नन्दकिशोर मुलत; पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाहिने हात जस्तै थिए। प्रचण्डले जे भने पनि आदेश पालना गर्ने, मुखले बोलेरभन्दा ब्यवहारबाट पुष्टि गर्ने उनको स्वभावका कारण प्रचण्डले उनलाई आफूपछिको दोश्रो सैन्य कमाण्डरको रुपमा खडा गराएका थिए। 
इमान्दार, कुनै ठूला विवादमा नफसेका र धेरै महत्वकाङ्क्षा नबोकेका माओवादी लडाकुका कमै कमाण्डरमध्येका एक नन्दकिशोर जनुद्धमा भएका प्रायः सबै ठूला-ठूला युद्धमा प्रत्यक्ष कमाण्डरको भूमिकासहित युद्ध मैदानमा खटेका हुन्। मिलिसियादेखि जनसेनाकोको निर्माण, तिनको विकास र परिचालन तथा कम क्षतिमा ठूलालडाईं सम्पन्न गराउने उनको विशेषता थियो। २०६९ सालको चैत्र २४ गते राति ११ बजे रोल्पाको गाम गाविसमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेक आक्रमण उनकै योजना रकमान्डमा भयो। त्यसैगरी २०५८ फागुन ४ गते अछामको मंगलसेनमा पनि आक्रमण गराए। २०६१ चैत्र ७ गते म्याग्दी सदरमुकाम माथिको भिषण आक्रमण पनि उनकै कमाण्डमा भएको थियो।
 यी सफल युद्धबाट प्रशस्त हात हतियार, गोली गट्ठा र नगद संकलन गरेर युद्धको उचाई अझै विकसित हुँदैगर्दा काठमाडौं नजिकै थानकोटमाथि आक्रमण हुन थालेपछि खासगरी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरला, एमाले महासचिवमाधवकुमार नेपालको पहलमा दिल्लीमा १२ बुँदे सहमतिको थालनी भयो। ऐतिहासिक चुन्वाङ बैठकपछि तत्कालीन माओवादीले शान्तिको कार्यनीति र विद्रोहको रणनीति लिएर एक पटक शहर पस्ने निर्णय गर्यो। र त्यसको जग थियो त्यही १२ बुँदे सम्झौता। अहिले शान्ति प्रकृया नै गलत थियो भन्नेहरुलाई त्यही १२ बुँदे सम्झौता मन नपरेको हो। मुलतः चुनवाङ बैठकको सारभनेको शहर पसेर भासिने वा संसदीय व्यवस्थामा जाकिने भन्ने थिएन। बरू शान्ति र संविधानको चक्मा दिएर सडक र सदनमा संघर्ष बढाउने र जनविद्रोह सम्पन्न गर्ने थियो। जस अनुरुप थुप्रै लडाकु र तिनका कैयौं होनाहार कमाण्डरलाई वाइसिएलको रुपमा विकास त गरियो तर योजना असफल हुँदै गएपछि ती सबै तितरबितर बने। 
यद्यपी प्रचण्ड लडाकुको सर्वोच्च कामण्डरको पद त्यागेर पार्टी अध्यक्ष मात्र बने र नन्दकिशोर लडाकुको सर्वोच्च कमाण्डर। प्रचण्डले शान्ति, शान्ति र फेरि पनि शान्ति भट्याउन थालेपछि राजनैतिक विचारधारामा गम्भीर मतभेद पैदा हुन पुग्यो। र शान्तिकाल लागेपछि धेरैलडाकु कमान्डरले प्रचण्डको साथ छाडे, अर्का प्रभावशाली कमाण्डर नेत्रविक्रम चन्दले नयाँ पार्टी खोलेर चुनौति नै दिए। कोही सुन तस्करी काममालागे, कोही यार्सागुम्बा र रक्तचन्दन ब्यापार तथा लुटपाटमा लागे तर नन्दकिशोरले प्रचण्डको साथ कहिल्यै छाडेनन्। हुन त प्रचण्डको साथ छाड्नेकतिपय कमान्डरसँग राजनैतिक मत-भिन्नता र सैद्धान्तिक दृष्टिकोणका आधार पनि फरक थिए तर नन्दकिशोर र प्रचण्ड शान्ति सम्झौतालाई जसरी पनि समापन गरेर एक थान संविधान घोषणा गर्न लागिपरेका हुन्। 
नन्दकिशोरले सेना संमायोजन गर्न हुन्न भनेर कहिल्यै भनेनन्। प्रचण्ड माओवादीले शान्ति प्रकृयालाई अक्षरशः पालना गरेसँगै सेना समायोजन जस्तो महत्वपूर्ण काम सम्पन्न भयो तर निकै नै कम सङ्ख्याका लडाकुलाई नेपाली सेनामा राखियो। अन्य बाँकी सरकारी राहत बुझेर आ-आफ्नो बाटो लागे। जोड्न खोजेको कुरा के हो भने सेना समायोजन निकै संवेदनशील विषय थियो,तर नन्दकिशोरले सुझबुझको प्रयोग गरेर हलको बाटोमा रोडम्याप देखाइदिए। अन्यथा शिविर भित्रै रक्तपातको अवस्था बन्नैलागेको थियो जुन कुरा अहिलेसम्म मिडियामा आएको छैन। र सेना समायोजनको काम पूर्ण रुपमा समापन भएपछि उनी पार्टीको राजनितिमा लागेपार्टीको स्थायी समिति सदस्यका रुपमा । तर उनको स्वास्थ्यमा अचानक गडबडी उत्पन्न भयो। 
असजिलो महसुस गरेपछि २०६९ जेठ १७ मा उनी जोरपाटि स्थित नेपाल मेडिकल कलेजमा जाँच गर्न गए । त्यहाँ उनको आइसियुमा राखेर उपचार भयो । अनि डाक्टरको रिपोर्ट आयो-उनका दुबै मृगौला काम गर्न नसक्ने भएका रहेछन्।डाक्टरले विदेश उपचार गर्न जान सल्लाह दिएपनि उनले मानेनन्। नेपाल मै मर्छु तर उपचार गर्नको लागि विदेश जान्नँ भन्ने उनको विचार थियो।अर्को राज्यको ढुकुटी खर्च गरेर व्याक्तिको उपचार गर्न हुँदैन भन्ने उनको मान्यता थियो। बिरामी अवस्थामै दोश्रो संविधान सभाका लागि काठमाडौंक्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिए र तर चुनाव हार्नुपर्यो । अर्को कुरा रोल्पाको मानिस काठमाडौंबाट चुनाव लड्नु सामान्य कुरो पनि थिएन। उनले चुनाव हारेपनि संविधान निर्माणमा उनको भूमिका सधै प्रसंशनिय नै रह्यो। प्रचण्डलाई अनेक कोणबाट मद्दत दिए, ढाडस दिए।
 संविधानघोषणापश्चात् घरेलु राजनीति बाह्य शक्ति सन्तुलनको समिकरणमा देखा परेको आकस्मिक फेरबदलको अवस्थामा पनि उनी डगमगाएका थिएनन्। तर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने गरी एमाओवादी सरकारमा जाने भएपछि उनी मन्त्री हुने वा नहुने भन्ने बारे धेरै कोकोहोलो भयो। चुनाव हारेकालाई मन्त्री बनाउँदा संवैधानिक संकट देखिने हुँदा उनी उप-राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा पार्टीले निर्णय गर्यो। तर यो निर्णय कतिपय एमाओवादीकै नेता, एकजना पूर्व सेनापति र अन्तर्राष्ट्रिय शक्तिलाई मन नपरेका कारण बुधबारका लागि निश्चित भएको चुनाव तालिका उप-राष्ट्रपतिका लागि मात्र शनिबार सारिएको सूचना टाँस भयो। सभामुख ओनसरी घर्तीको हस्ताक्षरमा टाँस गरिएको उक्त सूचनामा प्रस्ट कारण नखुलाईए पनि कतिपयले उनलाई उपराष्ट्रपति हुन नदिनको लागि चलखेल गर्ने समय छुट्टाएको तर्क गर्न थालेका थिए भलै त्यो तर्क गलत साबित भयो। 
नेकपा एमालेसँगको सरकार गठनको सहकार्यका सन्दर्भमा नेता कार्यकर्ताहरूबीच मत मतान्तर के छन् ती कुरा प्रचण्डका लागि खासै महत्वपूर्ण कुरा त भएनन तर उनले एउटा जनजातिको छोरा जस्ले हिजो युद्धमात्याग, बलिदान र दुःख गर्यो, जोखिम उठायो र केही सकरात्मक परिवर्तनको निम्ति जीवनको अमूल्य समय खर्च गर्यो उसलाई उपराष्ट्रपति बनाएरसम्मान गरेका छन्, मर्यदा राखेका छन् । यसरी लामो संघर्षको दौड, अविचलित जीवन गाथा, प्रतिस्पर्धा र नेपालमा भएका ठोस परिवर्तनको मुख्य संवाहकको नाताले आखिरमा नन्दकिशोरउपराष्ट्रपति बनेका छन्। 
अर्थात् देशकै दोश्रो बरियातक्रममा रहेको एउटा सम्मानित पदमा उनी आसिन भएका छन्। उनलाइ यो पद दिएर नेपाल रनेपाली माथि ठूलो अन्याय भयो जस्तो मलाई लाग्दैन। हुन त एकदिन फल काटेर खान पाइन्छ होला भनेर उनी जीवन मरणको युद्धमा होमिएका हुँदैहोइनन्। आम गरिब, पीडित र शोषित जनताको पक्षमा नै उनले जीवनको मुख्य हिस्सा सुम्पेका हुन्। बरु उहिले उनको शान,मान र प्रतिष्ठा जति थियो,त्यो अहिले नहुन सक्छ। - गढ़तान्त्रिक खबर 

Labels: Article, Nepali, News, Photo, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution