नेपालमा अन्तर्राष्ट्रिय ह्याकर सक्रिय
काठमाडौँ , कार्तिक १६ - नबिल बैंकको एटिएमबाट डाटा चोरी गर्न लागेको अवस्थामा बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका छन् । चिप रिडर, ल्यापटपलगायत डिभाइससहित उनलाई गत साता प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
डाटा चोरी गरेर बैंक खाता ह्याक गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । एटिएममा शंकास्पद गतिविधि गरेको देखेपछि बैंक गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए । प्रहरीका अनुसार जर्जलेरले एटिएमभित्र ल्यापटपलगायत डिभाइस प्रयोग गरेर डाटा चोर्न खोजेका थिए ।
तर, डाटा चोरे–नचोरेको खुलिसकेको छैन ।
उनी एटिएम ह्याक गर्ने अन्तर्राष्ट्रिय गिरोहकै सदस्य भएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
यसअघि पनि अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । एउटै देशका भएकाले उनलाई पनि एउटै गिरोहले पठाएको हुनसक्ने प्रहरी आशंका छ ।
गत १० चैतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुल्गेरियाकै नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको थियो । उनको साथबाट १८ लाख नेपाली, ५७ हजार युरो, ४० हजार अमेरिकन डलर र करिब दुई सयवटा कार्ड बरामद भएको थियो । नक्कली एटिएम कार्ड प्रयोग गरेर नेपाली बैंकका एटिएम मेसिनबाट उनले दुई करोडभन्दा धेरै रकम निकालेका थिए ।
तर, नेपाली नभई विदेशीको खाताबाट उनले पैसा निकालेका थिए । मास्टर कार्ड र भिसा कार्डहरूको डाटा चोरर नक्कली एटिएम कार्ड बनाई उनले पैसा निकाल्दै आएका थिए । उनको गिरोहले पटक–पटक नेपालबाट त्यसरी पैसा निकालेर विदेशमा पठाएको अनुसन्धानमा खुलेको थियो । फेरि बुल्गेरियन नागरिक नै पक्राउ पर्नुले नेपालमा अन्तर्राष्ट्रिय ह्याकरहरू सक्रिय रहेको देखाएको छ । - नयाँ पत्रिका दैनिक
0 comments
Write Down Your Responses