खल्लो हुने भयो चाड
असोज २९- ज्येष्ठ नागरिक भत्ता नपाइने भएपछि दसैं खर्च जुटाउन ८१ वर्षीय डिल्लीमाया न्यौपाने दिनहुँ तरकारी बेच्न चरिकोट बजार धाउँछिन्। भीमेश्वर नगरपालिका १० रामकोटबाट एक घण्टा हिँडेर बजार आइपुग्दा दमको रोगी उनी थकित हुन्छिन्। स्वाँस्वाँ गरेर केहीबेर थकाइ मार्छिन्, श्रीमान् ७९ वर्षीय डिल्लीप्रसादसहितको आम्दानी स्रोत ज्येष्ठ नागारिक भत्ता र खेतीपाती नै हो। दसैंको किनमेल गर्न, पाउना सत्कार र टीकाटालोका लागि पैसा नभएपछि उनीहरू तनावमा छन्। ४ महिनाको हजारका दरले २ जनाले ८ हजार पाउने व्यवस्था छ। त्यसैबाट दसैं गुजार्ने सुरमा रहेका यी वृद्ध जोडी यतिखेर अचम्ममा परेका छन्। सरकारी लापरबाहीले भत्ता वितरण गरिएको छैन।
उनीहरूमात्र होइन, यसले सामाजिक सुरक्षा भत्ता पाउने १७ हजार ७ सय ३४ जना अलमल्लमा छन्। अघिल्लो वर्ष असोज लाग्नेबित्तिकै सामाजिक सुरक्षा भत्ता वितरण हुन्थ्यो। पहिलो किस्ताबापत भत्ता बुझेर दसैं मनाउने सुरमा बसेका अझै दसैंअगावै रकम पाउने आसमा छन्। छोरा विदेश गएपछि एक्लै दसैं मनाउने तयारी गर्दै गरेकी मिर्गे ५ की धनमाया राउत भन्छिन्, पैसा आउँदैन भन्ने लागेको भए अरू उपाय खोज्थें।
उनी भन्छिन्, ‘खर्च अभावले दसैं खल्लो हुने भयो।’ दोलखाका १० हजार १३ ज्येष्ठ नागरिकले दसैंअघि ४ हजारका दरले भत्ता पाउनुपर्थ्यो। भत्ता पाउनुपर्ने एकल महिला ४५ सय ८२, ज्येष्ठ दलित १ हजार ९३, पूर्ण अपांग १ सय ७१ र आंशिक अपांग १ सय ७७ छन्। उनीहरूले यस अवधिमा २ हजारदेखि १२ सयसम्म भत्ता पाउनुपर्थ्यो।
राज्यले दिनुपर्ने रकम ढिलासुस्ती भएपछि सामाजिक सुरक्षा भत्ता पाउनेमा निराशा छाएको ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामदास श्रेष्ठले बताए। सामाजिक सुरक्षा भत्ताबापत पहिलो चौमासिकबापत ५४ लाख २९ हजार ४ सय रुपैयाँ आवश्यक हुन्छ। उक्त रकम गाविस र नगरपालिकामा पठाउन जिविसले ढिला गरिदिँदा लक्षित समूहको दसैं खल्लो हुने भएको हो। ज्येष्ठ नागरिक संघका अध्यक्ष रामदासको भनाइमा आफूहरूलाई राज्यले तोकिएअनुसार रकम उपलब्ध नगराउने समस्या छ। त्यसमाथि पनि दसैंका बेला रकम दिन ढिलासुस्ती हुँदा ज्येष्ठ नागरिक दु:खित छन्।
लक्षित समूहको हातमा रकम पुर्याउने गाविस र नगरपालिका सामाजिक सुरक्षा भत्ता दसैंअघि बाँड्ने वातावरण नबन्नुमा जिविस मुख्य कारण ठान्छन्। भीमेश्वर नगरपालिका कार्यकारी प्रमुख सञ्जयबहादुर राजलवट बुधबारमात्र व्यक्तिको खातामा जाने गरी बैंकमा निकासा गरेको बताउँछन्। ढिला गरी गाविसको खातामा पनि रकम गएको छ। तर नेपाल बैंक लिमिटेडमा बिहीबार बेलुकीसम्म नोट अभावले गाविस सचिवले सामाजिक सुरक्षा भत्ता लिएर गाउँ जान सकेका छैनन्।
गाविस सचिव हकहित संरक्षण केन्द्र जिल्ला अध्यक्ष भरत पौडेलका अनुसार बैंकमा नोट अभाव र सचिवहरू घर जानुपर्ने अवस्था हेर्दा दसैंअघि सबै गाविसमा रकम बाँड्न नसक्ने बताउँछन्। उनका अनुसार वृद्धवृद्धाले साह्रै मन खल्लो पारेकाले लामाबगर र ओराङमा सहकारीबाट ऋण झिकेर धेरथोर बाँडिएको छ। जिविसले गाविस र नगरपालिकामा असोज २५ गतेमात्र सामाजिक सुरक्षा भत्ता निकासा गरेको थियो। निमित्त स्थानीय विकास अधिकारी योजना अधिकृत रघुनाथ महतका अनुसार जिविसमा असोज १७ गते उक्त रकम वितरण गर्न अख्तियारी आएको थियो।
बिदा र केही प्राविधिक कारणले गाविस र नगरमा करिब सात दिनपछि मात्र रकम निकासा गरेको उनले बताए। उनका अनुसार यस वर्ष सरकारले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा गर्न ढिला गरेको हो। अघिल्ला वर्षहरूमा यो शीर्षकको रकम असोज सुरुमै अख्तियारी पठाउने गर्थ्यो। उपहार पेट्रोल र ग्यास उदयपुर– समयको परिवर्तनसँगै दसैंको उपहार पनि बदलिएको छ। सधैं काठमाडौंमा रहेका आफन्तलाई खसी र घिउ उपहार पठाउने यहाँका सर्वसाधारणले यो वर्ष पेट्रोल र ग्यास पठाएका छन्।
दसैंमा पेट्रोल र ग्यास उपहार पठाउनेमा सरकारी कर्मचारी, प्रहरी र केही सर्वसाधारण पनि छन्। सधंै दसैंमा खसी, बोका, घिउ र चामल उपहार माग्ने राजधानीवासी यसपटक पेट्रोल र ग्यास मागेको आफन्तहरू बताउँछन्। ‘सक्नुहुन्छ भने पेट्रोल र ग्यास पठाउनुस्,’ एक सरकारी अधिकृतले भने, ‘सक्दिन भनेर भन्न पनि आफ्नो विभागीय प्रमुखले भने, सक्छु भन्नौं कसरी जोहो गर्ने?’ समस्यामै परे पनि हाकिमलाई खुसी पार्न १५ लिटर पेट्रोल र एउटा ग्यास सिलिन्डर पठाएको उनले सुनाए। ती सरकारी अधिकृतले पेट्रोल र ग्यास अन्य समयको मूल्यभन्दा बढी परेको छ। ‘सरकारी भए पनि प्रशासन र प्रहरीलाई भन्दा अन्यलाई व्यापारीले वास्ता गर्दैनन्,’ ती अधिकृतले भने, ‘त्यसैले बढी मूल्य तिरेरै टाटा सुमोमा पठाएँ।’
गाडीले भाडा १ हजार ५ सय लिएको उनले बताए। ‘काठमाडौंका आफन्तले पेट्रोल र ग्यास मागेका छन्,’ त्रियुगा नगरपालिका ४ का नरेश कार्कीले भने, ‘गाईघाट क्षेत्रका पम्पमा पुगे पेट्रोल खोज्दा पाइएन।’ त्यसैले पूर्वपश्चिम राजर्मागको कदाहामा पुगेर लिटरको २ सयका दरले किनेर पठाएको उनी बताउँछन्। गत वर्षहरूमा दसैंका समयमा खसी, बोका र चामल बेकेर काठमाडौं जाने बस र जिप अहिले पेट्रोल र ग्यासले भरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्यांकर भरिएर काठमाडौं जाने पेट्रोल र ग्यास अहिले बस/जिपमा पुग्छन्। ‘विगत वर्षमा खसी,बोकाले भरिने गाडी अहिले पेट्रोल र ग्यास लोड गरिन्छ,’ खोटाङ चिसापानीका रमेश फुयालले भने, ‘बसले जर्किनमा पेट्रोल लग्ने गरेका छन्।’ तर बसमा पेट्रोल र ग्यासका मालिक भने नहुने उनले बताए। फुयाल काठमाडौंका लागि गाईघाटबाट रात्रि बस चढेर गएका हुन्। पम्पमा पछिल्लो समय सर्वसाधारणले पेट्रोल पाउँदैनन्। व्यापारीले ग्यास दिएका छैन। - लोकतन्त्र पत्रिका
0 comments
Write Down Your Responses