के ‘सिंह इज ब्लीङ’ नयाँ हिन्दी फिल्म बेरोकटोक प्रदर्शन हुन्छ ?
काठमाडौँ, असोज ११ - भारतले नाकाबन्दी गरेर नेपाललाई दुख दिन थालेपछि नेपाली दर्शकको हिन्दी फिल्मप्रतिको मोह स्वाट्टै घटेको छ ।
एउटै हिन्दी फिल्मबाट करोडभन्दा बढी नाफा कमाउने वितरकहरु अहिले टाउकोमा हात राखिरहेका छन् ।
दुई साताअघि एउटै मितिमा नेपाली फिल्म वडा नम्बर ६ र हिन्दी फिल्म कट्टीबट्टी रिलिज भए । वडा नम्बर ६ मा प्रियंका कार्कीले नायिकाको भुमिका निर्वाह गरेकी छिन् भने, कट्टीबट्टीमा कंगनाको मुख्य भूमिका छ । उनी पछिल्लो समय बलिउडमा सफलताको सिखर उक्लिदै गरेकी नायिका हुन् ।
तर, काठमाडौंका दर्शक कट्टीबट्टीलाई कट्टी गर्दै नेपाली चलचित्र वडा नम्बर ६ मा झुम्मिएका छन् ।
गोपीकृष्ण मुभीजका म्यानेजर प्रदिप दाहालका अनुसार पछिल्ला दिनहरुमा हिन्दी फिल्मको ब्यापार ९० प्रतिशतले घटेको छ ।
हिन्दी फिल्मप्रति विकर्षण उत्पन्न हुनुमा हाल देशमा फैलिएको भारतविरोधी भावना प्रमुख कारण रहेको उनको अनुमान छ । त्यसो त देशका विभिन्न स्थानमा घोषितरुपमै भारतीय फिल्म र भारतीय टेलिभिजन बहिस्कार समेत गर्न थालिएको छ ।
म्यानेजर दाहालले अहिले हलमा लागेको हिन्दी फिल्म गतिलो पनि नभएको बताए । उनले भने, ‘भारत विरोधी भावना त छँदैछ, अहिले आएका हिन्दी फिल्म आफैंमा झुर भएकाले पनि दर्शक शुन्यमा झरेका हुन् ।’
‘सिंह इज ब्लीङ’ रिलिज भएपछि मात्रै हिन्दी फिल्मप्रति नेपाली दर्शकको बुझाई प्रष्ट हुने दाहालको भनाई थियो । यद्यपि, अब काठमाडौंमा नयाँ हिन्दी फिल्म बेरोकटोक प्रदर्शन गर्न पाउँछन् भन्न सकिने अवस्था छैन ।
वितरक एवं निर्माता गोपाल कायस्थ पनि हिन्दी फिल्मको ब्यापार घटेको स्वीकार्छन् । पछिल्लो समय राम्रा नेपाली फिल्म आएकाले पनि हिन्दी फिल्मको ब्यापार खस्केको उनको बुझाइ छ ।
अहिले नेपाली दर्शकले स्वतः स्फुर्त हिन्दी फिल्म हेर्न छोडेका छन् र यसलाई दिर्घकालसम्म कायम राख्नुपर्छ । किनकी भारतले हामीलाई असाध्यै हेप्यो । निर्माता संघ र विकास बोर्डवाट खासै अपेक्षा गर्न सकिदैन । दर्शकको बहिस्कार नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।
अहिले कतिले ग्याँस पाएका छैनन्, कतिको घरमा औषधी सकिएको होला । त्यस्तो हुँदा पनि नेपाली फिल्म हेर्न आएका छन् । ती दर्शक बधाइका पात्र हुन् ।
यसैवीच विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दीको विरोध गर्दै हिन्दी चलचित्रमा अवरोध पुर्याउनेनिर्णय गरेको छ ।
0 comments
Write Down Your Responses