कलाकार कैलाश श्रेष्ठको सामुदायिक कला केन्द्रलाई मूर्त रूप दिने अठोट
दोलखा, असोज ८ - २९ वैशाखको परकम्पमा दोलखाको गैरीमुदीस्थित घर भत्किएपछि उनलाई खबर आयो, ‘तुरुन्त घर आउनू ।’ पहिरोले ध्वस्त बनाएको बाटो छिचोल्दै बल्लतल्ल घर त पुगे तर त्यहाँको अवस्था देखेपछि मन कुँडियो । खासमा आफ्नै घरमा स्थानीय संस्कृति झल्किने एउटा संग्रहालय खोल्ने विचार थियो कैलाश श्रेष्ठको ।
मन अमिलो पार्दै उनी काठमाडौँका साथीहरूले पठाइदिएको राहत सामग्री बाँड्न व्यस्त रहे । त्यसपछि आफ्नै आँगनमा एउटा टहरो हालेर एउटा कुनामा बालबालिकालाई रचनात्मक काममा प्रेरित गरे । त्यसमा चाख दिएर सामेल हुन आउने केटाकेटीको संख्या दिन प्रतिदिन बढ्दै गयो ।
साना नानीको स्फुर्ति देखेर उनमा पनि केही दिगो काम गर्ने हौसला पलायो ।
तीन साताको गैरीमुदी बसाइमा कैलाशले समुदायको अपनत्व अनुभव गर्न पाए । शिक्षक बाबुका कान्छा छोरा कैलाशको बाल्यकाल अलिक अनुशासनमै बित्यो । समयमै स्कुल पुग्नु र घर फर्कनु अनि अरूले नदेखेका बेला घरको भित्ता विभिन्न अक्षरले कोरेर भर्नु अनि बेलुकी बाबुको हातबाट कुचो खानु उनको दैनिकी थियो । भन्छन्, “मैले बाल्यकालमा मिस गरेका अनुभव अहिले केटाकेटीमार्फत समेट्न पाइरहेको छु ।’’
अहिले उनकै जमिनमा त्यहीँका विद्यार्थीको सक्रियतामा अस्थायी सामुदायिक कला केन्द्र सञ्चालनमा छ ।
त्यहाँ गैरीमुदी गाविसका सबैजसो वडाका विद्यार्थीको थामिनसक्नुको भीड हुन्छ । उनीहरू प्रत्येक शनिबार त्यहाँ भेला हुन्छन् र विभिन्न कार्यक्रम गर्छन् । कहिले चित्र बनाउँछन्, कहिले कविता वाचन गर्छन् त कहिले नाचगान ।
ती बालबालिकाले बनाएका चित्रकला टिसर्टमा प्रिन्ट भएका छन् भने पोस्टकार्डमार्फत बिक्री पनि भएका छन् । त्यसबापत आम्दानी भएको रकम सोही केन्द्रकै लागि खर्च हुन्छ ।
कैलाश अहिले त्यही अस्थायी केन्द्रलाई स्थायी रूप दिने धुनमा छन् । स्रोतको अभाव छ तर ती उत्साहित बालबालिका कलात्मक विकासका लागि जसरी भए पनि केन्द्रलाई मूर्त रूप दिने अठोटका साथ लागिरहेका छन् । स्रोत :- नेपाल
0 comments
Write Down Your Responses